
काठमाडौं, वैशाख २५ :
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजैदेखि अघि बढाइँदैछ । यस विषयमा छलफल गर्न समितिले अपराह्न ४ बजे बैठक बोलाइएको छ। समितिका सदस्यहरूलाई उपस्थितिका लागि सूचना समेत जारी गरिएको छ।
सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्मा सम्बन्धी संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने विषयमा निर्णय गरिने जनाइएको छ।
रास्वपाको बहुमत भएकाले शर्माको सुनुवाइमा कुनै रोकावट नहुने अपेक्षा गरिएको छ । संवैधानिक परिषद्ले बिहीबार चौथो वरीयताक्रममा रहेका शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । पहिलो,दोस्रो र तेस्रो रोलक्रमकालाई बाइपास गरेर चौथोलाई सिफारिस गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।