काठमाडौं, वैशाख २५ :

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्रीले संविधानको मर्म र व्यवस्थाको उल्लंघन गरेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक परिषद्को व्यवस्था प्रधानमन्त्रीको एकल निर्णय र दबाब नियन्त्रण गर्नका लागि गरिएको भए पनि वर्तमान प्रक्रियामा त्यसको पूर्ण रूपमा बेवास्ता गरिएको टिप्पणी गरे।

उनले संवैधानिक परिषद्मा प्रधानमन्त्रीको ‘दादागिरी’ चल्न नदिन संविधानमै स्पष्ट व्यवस्था गरिएको उल्लेख गर्दै भने, “संवैधानिक परिषद्मा प्रधानमन्त्रीको दादागिरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ। सरकार प्रमुखले जबरजस्ती गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न संवैधानिक परिषद्को व्यवस्था गरिएको हो।”

थापाले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा संवैधानिक मर्यादा र विधिको पालना हुनुपर्नेमा जोड दिएका छन्। उनले राज्यका संवैधानिक निकायहरूमा हुने नियुक्ति पारदर्शी, विधिसम्मत र सहमतिका आधारमा हुनुपर्ने धारणा समेत राखे।