
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रमले परिवर्ननको दिशा पकड्ने सङ्केत नदेखिएको बताएका छन् ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारको कार्यक्रम निरन्तरमा कर्मकाण्डी भएको टिप्पणी गरे। स्रोतसाधनको सीमितताका बीच जनताको आकाङ्क्षा सम्बोधन गर्न कस्तो बजेट आउँछ भनी हेर्नुपर्ने उनले बताए ।
यसैगरी, विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले विगतकै निरन्तरतामा नीति कार्यक्रम प्रस्तुत भएको बताए । उनले नयाँ सरकार बनेको अवस्थामा नयाँ नीति र कार्यक्रम आउँछ भन्ने अपेक्षाअनुसार नभएको धारणा व्यक्त गरे ।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताए । संसद भवन परिसरमा सञ्चारकर्मीसंगकुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धरै क्षेत्रमा छोएपनि कार्यान्वयनमा चुनौती देखिन सक्ने बताएका हुन् । उनले सरकारले आफ्ना कार्यक्रमलाई कार्यान्वयन गर्न धेरै मेहनत गर्नुपर्ने उल्लेख गरे ।
यसैगरी, नेकपाका नेता वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम विगतको निरन्तरता जस्तै देखिएको प्रतिक्रिया दिए ।विशाल जनमत प्राप्त गरेको करिव दुई तिहाइको सरकारबाट धेरै अपेक्षा गरेपनि नीति तथा कार्यक्रम विगतको निरन्तरता जस्तै देखिएको प्रतिक्रिया दिएका हुन् ।
क्रम भङ्ग गर्ने खालको नीति कार्यक्रम ल्याउने जनताको अपेक्षा रहेकोमा एभरेज रुपमा आएको उनको भनाइ छ । नेता पुनले सरकारको नीति कार्यक्रम जस्तै बजेट आए नवयुवाहरू निराश हुने सम्भावना बढी देखिएको बताए । नीति कार्यक्रममा देखिएको कमजोरीलाई बजेटसम्म जाँदा जनताको अपेक्षा अनुसारको तयारी गर्नुपर्ने उनको भनाइ छ ।