काठमाडौं, वैशाख ३० :

कागेश्वरी मनोहरा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सुरक्षित, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले भत्ता वितरण गर्ने बैंकहरूसँग अन्तरक्रिया गरेको छ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा बुधबार थलीमा भएको कार्यक्रममा विशेषगरी ज्येष्ठ नागरिक र अन्य लाभग्राहीलाई सहज र सुरक्षित रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी बैंकका प्रतिनिधिहरुले भत्ता वितरणका क्रममा देखिएका व्यवहारिक समस्या, सेवाग्राहीको पहुँच, डिजिटल प्रणालीको प्रयोग, बैंकिङ सेवा विस्तार तथा सुरक्षा व्यवस्थाबारे आफ्ना धारणा राखेका थिए।

उनीहरूले ज्येष्ठ नागरिकलाई बैंकसम्म आउनुपर्ने झन्झट कम गर्न घरदैलो सेवा, मोबाइल बैंकिङ तथा सरल प्रक्रियामार्फत सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा नगर उपप्रमुख शान्ता थापाले सामाजिक सुरक्षा भत्ता राज्यले नागरिकलाई प्रदान गर्ने महत्वपूर्ण सामाजिक सुरक्षाको कार्यक्रम भएकाले यसको वितरण पारदर्शी, सुरक्षित र सेवाग्राहीमैत्री हुनुपर्ने बताइन्।

उनले ज्येष्ठ नागरिक तथा असहाय नागरिकलाई सम्मानपूर्वक सेवा दिन बैंक तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरिन्।

नगरपालिकाको सम्बन्धित शाखाका पदाधिकारीहरूले पनि सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई अझ सहज बनाइने बताएका थिए।कार्यक्रममा विभिन्न बैंकका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो।


नवीकरण कहिले गर्ने ?

सामाजिक सुरक्षा भत्तामा समावेश भएका लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण १ गते देखि भाद्र मसान्तसम्म अनिवार्य रूपमा वडामा गई नवीकरण गर्नुका साथै Biometric अनिवार्य गर्नु पर्दछ ।

कहाँबाट भुक्तानी लिने ? 

सामाजिक सुरक्षा भत्ता भुक्तानी लिदा बैकिङ्ग प्रणाली लागू भएका स्थानीय तहमा बैंक मार्फत अनिवार्य रूपमा गर्नुपर्नेछ । यसले गर्दा राज्य, स्थानीय तह तथा लाभग्राहीलाई प्रशासनिक सहजनता र पारदर्शिता कायम गर्न सजिलो हुन्छ ।

सामाजिक सुरक्षा कार्यक्रमबाट कुन अवस्थामा नाम हट्छ ?
१. लाभग्राहीको मृत्यु भएमा
२. बालबालिकाको उमेर ५ वर्ष अर्थात् ६० महिना पुरा भएमा (एक आमाका दुई सन्तान मात्र योग्य)
३. बसाई सरेमा
४. एकल वा विधवा महिलाले विवाह गरेमा
५. दोहोरो दर्ता कायम भएमा
६. स्वेच्छिक रूपमा लगत कट्टा गर्न चाहेमा
७. सरकारी वा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संघ/संस्थाबाट मासिक रूपमा निवृत्तिभरण वा अन्य कुनै लाभ लिएमा
८. दर्ता नवीकरण तथा Biometric नगरेमा ।

कस्तो नागरिकले सामाजिक सुरक्षा भत्ता लिनु हुँदैन ?

१. कुनै सरकारी, सार्वजनिक पदमा नियुक्त, निर्वाचित, मनोनित भएको व्यक्ति
२. सरकारी कोषबाट निवृत्तिभरण पाईरहेको व्यक्ति
३. ऐन बमोजिम सामाजिक सुरक्षा पाउन योग्य नभएको व्यक्ति 


जानकारी:
१एक व्यक्तिले दोहोरो रूपमा सामाजिक सुरक्षा भत्ता लिनु गैर कानुनी कार्य हो ।
२ लाभग्राहीमा नाम नभएको व्यक्तिले अर्को व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिनु हुँदैन ।
३ लाभग्राहीमा सूचीकृत भएको महिनाको अर्को महिनादेखि भत्ता प्राप्त गर्न सक्नेछन् ।
४ एक व्यक्तिले एक भन्दा बढी लक्षित समूहबाट भत्ता प्राप्त गर्न पाइने छैन ।