काठमाडौं, वैशाख ३१ :

विपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिए विरोध जारी रहने जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरुले मुलुकको कार्यकारी प्रमुखले सदनका काम कारवाहीलाई प्राथमिकता दिनुपर्ने भन्दै छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिए विरोध जारी रहने जनाएका हुन् ।

कांग्रेस सांसद सांसद निष्कल राईले सदनलाई चिया चौतारी नभइ विश्वविद्यालय हुनुपर्ने बताए । देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र नभइ संसदीय अभ्यासप्रतिको उदासीनता भएको उहाले बताए । उनले महत्वपूर्ण विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै जवाफका क्रममा प्रधानमन्त्री सहभागी नभए विरोध जारी रहने बताए।

त्यस्तै एमाले सांसद ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेन्द्रतन्त्रमा विकास गर्न खोजेको हो की भन्ने प्रश्न उब्जिएको धारणा राखे । प्रधानमन्त्रीले पटक पटक संसदको हुर्मत लिने र संसदको अपमान गर्ने काम गरेको उनले बताए । उनले सरकारप्रति उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने धारणा राखे।

त्यस्तै राप्रपा सांसद खुश्बु ओलीले लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास मात्र नभई निरन्तर संवादको प्रणाली भएको बताइन् । उनले संसदमा प्रधानमन्त्रीको उपस्थिति केवल अनुहार हेर्नका लागि नभई जवाफदेहिता खोज्नका लागि भएको समेत उल्लेख गरिन् । सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने दायित्व प्रधानमन्त्रीको भएको उनको भनाइ छ ।