कास्की, वैशाख ३१ :

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । 

पोखरामा बिहीबार आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा उपसभापति शर्माले पार्टीभित्र लामो समयदेखि चल्दै आएको ६०/४० को भागबन्डाको मनोवृत्ति त्याग्न आग्रह पनि गरे । उनले भने,‘ अब ६०/४० को होइन, अब सबै मिलेर १०० प्रतिशतको कांग्रेस बताउनुपर्छ ।’

विशेष महाधिवेशनको विरुद्धमा रहेका साथीहरूको पनि यो पार्टी उत्तिकै हो भन्दै उनले उनीहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर समेट्ने प्रक्रिया सुरु भइसकेको  बताए ।

उनले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे,महिला सङ्घको सभापतिमा मिना खरेल र केन्द्रीय समितिमा १९ जना सदस्यहरूको मनोनयन पार्टीलाई एक बनाउने मनसायले गरिएको बताए । शर्माले  सबैको क्षमता र योगदानलाई कदर गर्दै पार्टीले महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।