
आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ।
टियु मैदान किर्तिपुरमा भईरहेको खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ। अमेरिकाका कप्तान सैतेजा मुक्कामल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
यस खेलबाट ईशान पाण्डेले डेब्यु गर्दैछन् भने कुशल भुर्तेलले कमब्याक गरेका छन्।
नेपालको सुरुवाती ११ मा कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी रहेका छन् ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ ।
स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।