काठमाडौं, वैशाख ३१ :

गोकर्णेश्वर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको निरन्तर लगानी, प्रभावकारी नीति तथा विद्यार्थीमुखी कार्यक्रमले यस वर्षको एसईई परीक्षामा सकारात्मक परिणाम देखिएको छ। नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूबाट यस वर्षको एसईईमा ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ८१.९६ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो।

योसँगै सरकारी विद्यालयतर्फ यस वर्षको एसईई नतिजामा गोकर्णेश्वर नगरपालिका देशभरकै स्थानीय तहहरूमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउने स्थानीय तह बन्न सफल भएको छ। सामुदायिक विद्यालयप्रतिको विश्वास पुनः स्थापित गराउँदै नगरपालिकाले शिक्षा क्षेत्रमा नमुना अभ्यास प्रस्तुत गरेको छ।

यस वर्षको परीक्षामा धेरै विद्यार्थीहरूले उत्कृष्ट GPA हासिल गरेका छन्। विशेषगरी श्री चामुण्डा माध्यमिक विद्यालयकी छात्रा लाक्पा शेर्पाले GPA 4 प्राप्त गर्दै विद्यालय र नगरकै गौरव बढाएकी छन्। उनलाई नगरप्रमुख दीपक रिसालले एक विशेष कार्यक्रममार्फत बधाई तथा शुभकामना व्यक्त गरे।