काठमाडौं, जेठ ५ :

नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर आश्रमका पीठाधीश १००८ स्वामी श्री ज्ञानानन्द सरस्वतीले शृंगेरी मठका पीठाधीश जगद्गुरु शंकराचार्यको नेपाल आगमनले सनातन वैदिक धर्मको संरक्षण, पूर्वीय वाङ्मयको रक्षा तथा नेपाल–भारतबीचको धार्मिक एवं आध्यात्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले आद्य जगद्गुरु भगवान शंकराचार्यको परम्परामा रहेका सन्त–महापुरुषहरूले प्राचीन पूर्वीय वाङ्मय र सनातन वैदिक धर्मको निरन्तर रक्षा गर्दै आएको उल्लेख गर्नुभयो। शंकराचार्यहरूको भूमिका केवल धार्मिक उपदेशमा सीमित नभई समाज, राष्ट्र, राष्ट्रियता तथा मानव जीवनका विविध आयाममा केन्द्रित रहने उहाँको भनाइ थियो।

स्वामी ज्ञानानन्द सरस्वतीका अनुसार शंकराचार्यहरूका उपदेश र मार्गदर्शनले प्रथम आश्रमदेखि चतुर्थ आश्रमसम्मका सबै वर्ग र समुदायलाई समेट्ने गर्दछ। उहाँले जगद्गुरु शंकराचार्यको आगमनले नेपालमा धार्मिक चेतना, आध्यात्मिक जागरण तथा वैदिक परम्पराप्रतिको आस्था थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँ यही जेठ ८ गते पहिलो पटक नेपाल आउदै हुनुहुन्छ । उहाँले जेठ १५ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ ।