काठमाडौं, जेठ ६ :

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्कको अतिक्रमित जग्गा खाली गराउने तयारीलाई तीव्र बनाएको छ। महानगरले बुधबार एक जरुरी सूचना जारी गर्दै यसअघि निस्सा प्राप्त गरेका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जेठ ८ गतेभित्र वडा नम्बर ९ को कार्यालयमा आफ्नो विवरण बुझाउन आग्रह गरेको हो।

महानगरका अनुसार वास्तविक सुकुमवासीको पहिचान गर्न तीन दिनभित्र विवरण सङ्कलन गर्ने प्रक्रिया सुरु गरिएको छ। स्थानीयले महानगरबाट प्राप्त निस्सा, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र तथा नाता प्रमाणित कागजातसहित वडा कार्यालयमा उपस्थित हुनुपर्नेछ।

पोखरामा सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने उद्देश्यले २०३१/३२ सालमा पृथ्वीचोक क्षेत्रमा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। तर, पछिल्ला पाँच दशकमा निरन्तर अतिक्रमणका कारण बसपार्कको क्षेत्रफल खुम्चिँदै अहिले करिब २६ रोपनीमा सीमित भएको महानगरले जनाएको छ।

यसअघि महानगरपालिकाले गत वैशाख ४ गते अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। उक्त अल्टिमेटमको म्याद जेठ ८ गते सकिन लागेको छ। म्याद सकिनै लाग्दा महानगरले वास्तविक सुकुमवासीको पहिचान गरी सर्वपक्षीय सहमतिमा जग्गा खाली गराएर बसपार्क निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।