
नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउदै सदनलाई मर्यादित ढंगले अघि बढाउन प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् ।
उनले प्रधानमन्त्री र सरकार सदनप्रति जवाफदेही नभएसम्म हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य नरोकिने भएकाले बेलैमा सभामुख र सरकारको ध्यान जानुपर्ने बताए । पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहेपनि सभामुखको साथ प्राप्त नभएको उनले बताए ।
राईले सरकारले नै मर्यादा कायम गर्नु पर्नेमा सरकार र प्रधानमन्त्रीले सदनलाई देखिनसहने, सदन भनेपछि एलर्जी नै हुने जस्तो देखिएको उल्लेख गरे । सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दा हिँडेको समेत उनले आरोप लगाए।