भक्तपुर, जेठ ८ :

आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप काठमाडौंमा सुरु हुदैछ ।  

घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन् ।

घरेलु समर्थकको साथ, अनुभवी र युवा खेलाडीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बढेको आत्मविश्वासका कारण नेपालमाथि यसपटक विशेष चासो देखिएको छ ।

प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल आज साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल भारतबीचको प्रतिस्पर्धालाई प्रतियोगिताकै आकर्षक खेलका रूपमा हेरिएको छ ।

हिजो आयोजित प्रि-म्याच पत्रकार सम्मेलनमा निरुता ठगुन्नाले घरेलु कोर्टमा खेल्दा दर्शकको साथ टोलीका लागि ठूलो ऊर्जा बन्ने बताइन् ।

पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरिरहेकी निरुताले टोलीमा अनुभवी र युवा खेलाडीबीच राम्रो समन्वय रहेको उल्लेख गर्दै नेपाल राम्रो प्रदर्शनका लागि तयार रहेको समेत बताइन् ।