काठमाडौं, जेठ ८ :

दक्षिण भारतको प्रसिद्ध शृंगेरी शारदा पीठका परम पूज्य जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यू पहिलो पटक आज नेपाल भ्रमणमा आउनु भएको छ। उहाँ आज दिउँसो काठमाडौं आइपुग्नु भएको हो । 

महास्वामीज्यूको विमानस्थलको विशिष्ट कक्षमा पञ्चकन्यासहित स्वस्तिवाचनद्वारा भव्य स्वागत गरिएको थियो। स्वागतका क्रममा पञ्चेबाजा, धिमेबाजा, विभिन्न सांस्कृतिक झाँकी तथा पुष्पवृष्टिको समेत विशेष व्यवस्था गरिएको थियो।

जगद्गुरु महास्वामीज्यूले आजदेखि आगामी १५ गतेसम्म नेपाल भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। भ्रमण अवधिभर श्रद्धालु तथा सर्वसाधारणलाई उहाँको दर्शन तथा आशीर्वाद प्राप्त गर्न सहभागी हुन आग्रह गरिएको छ।

उहाँको नेपाल भ्रमणलाई सफल बनाउन नेपाल सरकार, पशुपतिनाथ मन्दिरका मूल भट्ट तथा भट्टज्यूहरू, पशुपति क्षेत्र विकास कोष, नेपाल सन्त समाज, विश्व ॐकार एकता महाभियान, विश्व हिन्दू महासंघ तथा भारतीय दूतावासलगायत संस्थाहरूले आवश्यक समन्वय तथा स्वागत सत्कारको तयारी गरिरहेका छन्।

नेपाल भ्रमणका क्रममा जगद्गुरुले काठमाडौंस्थित पशुपतिनाथ मन्दिर, बत्तीसपुतलीस्थित राम मन्दिर, बुढानीलकण्ठ मन्दिर, देवघाट, कागबेनी तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ। उहाँको नेपाल आगमन र सरिक हुने कार्यक्रमको सक्रिय अनलाइनले आफ्नो फेसबुक र युटयुब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।