काठमाडौं, जेठ ९ :

नेकपा एमालेभित्र नेतृत्व पुस्तान्तरणको बहस फेरि चर्किएको छ। पार्टीको वर्तमान अवस्था, निर्वाचनपछिको कमजोर प्रदर्शन र संगठनभित्र बढ्दो असन्तुष्टिबारे नेताहरूले खुलेर धारणा राख्न थालेका छन्।

पार्टीभित्र उठिरहेका आवाजहरूमा अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नेतृत्व सम्हालिरहेको सन्दर्भ जोडतोडका साथ उठाइएको छ। एमाले गौरवपूर्ण इतिहास, लाखौँ कार्यकर्ताको त्याग र बलिदानबाट बनेको पार्टी भएकाले यसलाई कुनै व्यक्ति वा समूहको निजी संरचनाजस्तो ढंगले सञ्चालन गर्न नहुने धारणा व्यक्त गरिएको छ।

नेताहरूले अबको आवश्यकता सामूहिक नेतृत्व, विचार, इमानदारी र संघर्षको राजनीतिलाई प्राथमिकता दिनु भएको बताएका छन्। वर्तमान समयको मागअनुसार युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिइएको छ।

यसै सन्दर्भमा नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स-सम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीलाई व्यक्ति केन्द्रित होइन, विधि र सामूहिकतामा आधारित ढंगले अघि बढाउनुपर्ने बताउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखेकी छन्।

एमालेलाई पुनः जनआन्दोलन र जनविश्वासको केन्द्रमा पुर्‍याउन नेतृत्वमा परिवर्तन, संगठनभित्र एकता र कार्यकर्ताको भावना बुझ्ने संस्कृतिको आवश्यकता रहेको नेताहरूको भनाइ छ। व्यक्तिपूजा र गुटगत राजनीतिभन्दा देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

अष्टलक्ष्मीको सुझाव

कमरेड अध्यक्ष केपी शर्मा ओली,

तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभएको छ। यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुनः नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्‍याउन सकिन्छ। अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु।

बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईंको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड, सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।

अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी। आजको समयको माग विचार, सामूहिकता, सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ। कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ।

नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थ भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो।