
कागेश्वरी मनोहरा नगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरभित्रको बजार अनुगमनलाई तीव्र बनाएको छ।
खाद्यान्न, मासुजन्य पदार्थ, तरकारी, फलफूललगायत सामग्रीको बिक्री–वितरणमा लापरबाही भइरहेको जनगुनासो बढेपछि नगरपालिकाको बजार अनुगमन शाखाले केही दिनयता नियमित अनुगमन सुरु गरेको हो।
बुधबार नगरपालिकाको बजार अनुगमन शाखाले वडा नं. ९ अन्तर्गत विभिन्न १३ वटा पसल तथा खाद्य स्टोरमा अनुगमन गरेको छ। अनुगमनका क्रममा कतिपय पसलमा म्याद गुज्रेका तथा अखाद्य वस्तु फेला परेपछि ती सामग्री तत्काल नष्ट गरिएको छ। पुनः यस्ता लापरबाही दोहोरिए कानुनी कारबाही तथा जरिवाना गरिने चेतावनी समेत दिइएको छ।
बजार अनुगमनकी प्रमुख शान्ति ढकालका अनुसार अनुगमनका क्रममा पसल दर्ता तथा नवीकरणको अवस्थासमेत जाँच गरिएको थियो। तीन वटा पसल दर्ता बिना सञ्चालन भएको तथा अधिकांश पसलको नवीकरण नगरेको पाइएको उनले जानकारी दिइन्।
अनुगमनका क्रममा रजिता मिठाइ भण्डारले गम्भीर लापरबाही गरेको भेटिएको छ। म्याद गुज्रेको मैदा प्रयोग गरेको, धेरै दिनदेखि मुछिएको पिठो प्रयोगमा रहेको, भाँडा सफा नगरिएको तथा मिठाईको चास्नीसमेत फोहोर अवस्थामा राखिएको पाइएको थियो। उक्त सामग्री प्रहरीको रोहवरमा तत्काल नष्ट गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार अनुगमनका क्रममा खाद्यान्न, अप्रशोधित, अर्धप्रशोधित तथा प्रशोधित खाद्य सामग्री, तिनमा प्रयोग हुने कच्चा पदार्थ, बिक्री स्थल तथा भण्डारण गृहको निरीक्षण गरिएको थियो। साथै खाने तेल, घिउ, वनस्पति, दूध तथा दुग्धजन्य पदार्थ, प्याकेजिङमा प्रयोग हुने प्लास्टिक, मसला, माछा, मासु र अण्डालगायत सामग्रीको गुणस्तरसमेत परीक्षण गरिएको थियो।
उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले बजार अनुगमन अभियानलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ। आकस्मिक तथा छड्के अनुगमनका कारण व्यापारीहरू समेत सचेत बन्न थालेको स्थानीयको भनाइ छ।