काठमाडौं, जेठ १४ :

बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा राति १०ः०० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलीमिटर वर्षा भएको छ । 

यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलीमिटर वर्षा मापन भएको छ । भारी वर्षाले पानीको निकास थुनिदा सडक तथा चोक जमग्न भएको थियो । थापाथली, माइतीघर,पुतलीसडक र त्रिपुरेश्वरमा सडक खोला झैं देखिन्थ्यो । सवारी साधन आवतजावतमा निकै कठिनाई उत्पन्न भएको थियो ।  सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलीमिटरमाथि वर्षा भएको छ ।

यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ । बदली बढेकाले तापक्रम घटेर शीतल महसुस भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्नसक्ने जानकारी दिए । जेठ १८ गतेसम्म नै मौसम बदली रहने बताइएको छ ।