काठमाडौं, जेठ १५ :

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा विभिन्न कार्यक्रमको आयोजना गरी सगरमाथा दिवस मनाइएको छ ।

सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् ।

दिवसका अवसरमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनको असरले बढ्दोरुपमा हिउँ पग्लिँदै जाँदा हिमताल नै जोखिम पर्न गई तटीय क्षेत्रका बस्ती र खानेपानीका मुहानमा प्रत्यक्ष असर परिरहेको बताए । उनले  हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्वकै समुदायकै दायित्व भएको धारणा राखे ।

नेपालको पर्यटन र समृद्धिको मुख्य आधार हिमाल भएकाले यसको संरक्षण र सम्वद्र्धन गरेर मात्रै राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने उनको भनाइ छ । कार्यक्रममा कार्यक्रममा विश्वको सर्वोच्च शिखरसहित विभिन्न हिमालको आरोहण गरी विश्व कीर्तिमान राख्ने आरोहीलाई सम्मान गरिएको थियो ।