आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश स्वास्थ्य

कागेश्वरी नगर अस्पतालमा प्रजनन उमेरका महिलाका लागि निःशुल्क विशेष स्वास्थ्य शिविर सञ्चालन

लक्षित सबै महिलाहरूलाई मूलपानी नगर अस्पतालमा गएर स्वास्थ्य शिविरको लाभ लिन आग्रह ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ जेठ, २०८३ मा प्रकाशित
कागेश्वरी नगर अस्पतालमा प्रजनन उमेरका महिलाका लागि निःशुल्क विशेष स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं, जेठ १९ :

कागेश्वरी मनोहरा नगरपालिकाले प्रजनन उमेरका महिलाहरूको स्वास्थ्य अवस्था समयमै पहिचान गरी आवश्यक उपचार सुनिश्चित गर्ने उद्देश्यले विशेष स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाको ‘उप-प्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम’ अन्तर्गत यही जेठ १३ गतेदेखि सुरु गरिएको शिविर मूलपानी नगर अस्पतालमा सञ्चालन भइरहेको छ। कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका प्रजनन उमेर समूहका महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन सक्ने नगर प्रमुख उपेन्द्र कार्कीले बताए ।

शिविरमा पाठेघरको क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक HPV/DNA परीक्षण, प्रजनन स्वास्थ्य परामर्श तथा पाठेघरको अल्ट्रासाउन्ड (USG) सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। साथै मधुमेह, उच्च रक्तचाप र मानसिक स्वास्थ्यसम्बन्धी मनोसामाजिक परामर्श सेवा पनि निःशुल्क प्रदान गरिएको छ।

महिलाहरूमा हुन सक्ने पाठेघरको क्यान्सर, स्तन क्यान्सर तथा अन्य स्वास्थ्य समस्याको समयमै पहिचान गरी रोकथाम र उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख शान्ता थापाले जानकारी दिइन् ।

नगरपालिकाले लक्षित सबै महिलाहरूलाई मूलपानी नगर अस्पतालमा उपस्थित भई निःशुल्क स्वास्थ्य शिविरको लाभ लिन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार