
कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रभित्र बढ्दो विषादीको प्रयोगसँगै तरकारी बालीहरू विषाक्त देखिन थालेपछि उपभोक्ताको स्वास्थ्य र वातावरण संरक्षणका लागि नगरपालिकाले विशेष सक्रियता देखाएको छ।
नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकहरूका लागि स्थलगत तालिम प्रदान गरेको छ।
“सुरक्षित विषादीको प्रयोग गरौँ, स्वास्थ्य र वातावरण जोगाऔं” भन्ने मूल नाराका साथ “सुरक्षित विषादी प्रयोग एवं रासायनिक विषादी प्रयोगमा न्यूनीकरण सम्बन्धी स्थलगत तालिम” आयोजना गरिएको कृषि विकास शाखाले जनाएको छ।
उक्त कार्यक्रममा नगरपालिका भित्र व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो। तालिमका क्रममा कृषि प्राविधिकहरूले कृषकहरूको खेतबारीमै पुगेर रासायनिक विषादीको सही प्रयोग, यसबाट हुन सक्ने जोखिम र रासायनिक विषादीको सट्टा प्रयोग गर्न सकिने जैविक विकल्पहरूका बारेमा प्रयोगात्मक रूपमा सिकाएका थिए।
यसका साथै, विषादी छर्कने समयमा कृषक आफैँ पनि उच्च स्वास्थ्य जोखिममा पर्ने कुरालाई ध्यानमा राख्दै नगरपालिकाले विशेष सजगता अपनाएको छ। कार्यक्रममा सहभागी कृषकहरूलाई विषादी प्रयोग गर्दा लगाउने विशेष सुरक्षित पहिरन (PPE) समेत नि:शुल्क वितरण गरिएको छ।
कृषि विकास शाखाका अनुसार यस कार्यक्रमले नगरभित्र विषादीको जथाभाबी प्रयोगमा कमी ल्याई सुरक्षित, स्वच्छ र स्वास्थ्यकर तरकारी उत्पादनमा महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।