
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
१५० औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागद्वारा आज आयोजित हुलाक टिकट प्रदर्शनी कार्यक्रमको शुभारम्भ गर्दै उहाँले हुलाक सेवालाई थप सूचना प्रविधि मैत्री बनाउँदै युवा पुस्तामा यसप्रतिको आकर्षण वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।
हुलाक सेवालाई अझ सुदृढ बनाउन मन्त्रालयले साथ दिने उल्लेख गर्दै यसका लागि हुलाक सेवा विभागका कर्मचारीलाई थप सिर्जनशील भएर सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
नेपाल फिलाटेलिक सोसाइटीको सहकार्यमा विभागले हुलाक टिकट प्रदर्शन आयोजना गरेको हो । प्रदर्शनीमा नेपाललगायत विश्वभरका हुलाक टिकट राखिएका छन् ।
सो अवसरमा विभागका निमित्त महानिर्देशक ध्रुवराज आचार्यले नेपालमा विं.स १९३५ मा हुलाक घरबाट सुरु भएको हुलाक सेवाका समयले निम्त्याएका थुप्रै चुनौती सामना गर्दै आउनुपरेको बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिडियो सन्देश दिनुभएको थियो । सन्देशमा नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुने क्रममा रहेको र यसको विकासका लागि थप अग्रसर हुँदै आएको उल्लेख छ ।
विश्वभरको हुलाक सेवा प्रभावकारी बनाउने हेतुले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । नेपालले सन् १९५६ जुलाई ११ मा सङ्घको सदस्यता लिएको थियो ।