
गोकर्णेश्वर नगरपालिकाले 'जेन जी छात्रवृत्ति कार्यक्रम' घोषणा गरेको छ । 'जेन- जी' का आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै शैक्षिक सत्र २०८२ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका नगरभित्रका विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएको हो ।
नगर प्रमुख दीपककुमार रिसालले संघीय तहबाट युवाका मुद्दामा पर्याप्त ध्यान नपुगिरहेका बेला स्थानीय सरकारले जेन-जी पुस्ताको क्षमता विकास र भविष्य निर्माणका लागि यो रोजगारमुखी पहल सुरु गरेको बताए ।
यही जेठ २२ गतेसम्म आवेदन दिन सकिने र यसका लागि एसईईमा न्यूनतम १.६ जीपीए प्राप्त गरेको र गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ ।नगरपालिकाका अनुसार स्वास्थ्य क्षेत्रतर्फ ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, फार्मेसी, रेडियोग्राफी लगायतका विषय अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यस्तै, शंखरापुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा सिभिल, जियोमेटिक्स, हाइड्रोपावर र अटोमोबाइल इन्जिनियरिङ अध्ययनका लागि पूर्ण (निःशुल्क) छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका सरकारी विद्यालयतर्फ यस वर्षको एसईई नतिजामा देशभरकै स्थानीय तहहरूमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउने स्थानीय तह बन्न सफल भएको थियो । सामुदायिक विद्यालयहरूबाट यस वर्षको एसईईमा ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ८१.९६ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो।
नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको निरन्तर लगानी, प्रभावकारी नीति तथा विद्यार्थीमुखी कार्यक्रमले यस वर्षको एसईई परीक्षामा सकारात्मक परिणाम देखिएको नगरप्रमुख रिसाल बताउँछन् ।
त्यसो त गोकर्णेश्वर नगरपालिकाले शिक्षासँगै स्वास्थ्यमा निकै फट्को मारेको छ । केही समयअघि मात्रै काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको थियो ।
शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा देखिएको सकारात्मक परिणामले नगरपालिकाले अवलम्बन गरेका नीतिगत सुधार तथा सेवामुखी कार्यक्रमहरूको प्रभावकारिता पुष्टि गरेको छ। युवा पुस्तालाई लक्षित गर्दै ल्याइएको ‘जेन जी छात्रवृत्ति कार्यक्रम’ले प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार गर्नुका साथै दक्ष जनशक्ति उत्पादन र स्थानीय स्तरमै रोजगारीको आधार निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
युवा जोश र जाँगरले भरिएका नगर प्रमुख रिसालको कार्यशैली नवीन र प्रशंसनीय हुने गरेको छ । उनका सफल र नयाँ कार्यक्रमहरुलाई अन्य नगरपालिकाले पनि अनुसरण गर्न थालेका छन् । यो उनको सफलता पनि हो ।