
धार्मिक, ऐतिहासिक, तथा सांस्कृतिक क्षेत्र बौद्धमा शनिबार ‘बौद्ध महोत्सव–२०८३’भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका वडा नं. ६ को आयोजनामा महेन्द्र बौद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित महोत्सवको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल र वडा नं. ६ का वडा अध्यक्ष भुवन लामा ले संयुक्त रूपमा गरेका थिए।
उद्घाटन समारोहमा प्रमुख अतिथि मेयर रिसालले बौद्ध क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले स्थानीय कला, हस्तकला, मौलिक खाद्य परिकार तथा स्थानीय व्यवसायको प्रवर्द्धनमा यस्ता महोत्सवहरू कोसेढुङ्गा साबित हुने उल्लेख गर्दै आयोजक टोलीलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ६ का वडा अध्यक्ष लामाले महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई बौद्ध क्षेत्रको जीवन्त संस्कृति आगामी पुस्तासम्म हस्तान्तरण गर्ने र स्थानीय उद्यमशीलतालाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको बताए।
सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको महोत्सवमा मौलिक परम्परागत खाद्य परिकार, स्थानीय हस्तकला तथा घरेलु उत्पादनका विभिन्न स्टलहरू राखिएका थिए। साथै स्थानीय कलाकारहरूको मौलिक सांस्कृतिक प्रस्तुतिसँगै चर्चित नेपाली सांगीतिक समूह The Eves Band को विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।
महोत्सवले बौद्ध क्षेत्रको सांस्कृतिक पहिचान, स्थानीय उत्पादन तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्दै उत्साहपूर्ण वातावरणमा सफलता पूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।