काठमाडौं, जेठ २४ :

विश्वकै सबैभन्दा ठुलो एआई, कोडिङ तथा रोबोटिक्स प्रतियोगिता कोडेभर ७.० मा नेपाली विद्यार्थीका ६ टोलीले अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका छन् ।

इन्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा सम्पन्न प्रतियोगितामा ७० भन्दा बढी देशका टोलीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाली विद्यार्थीका नौ टोलीले उत्कृष्ट प्रदर्शन गरेका हुन् । प्रतियोगितामा नेपालले ६ वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्नुका साथै थप तीन टोली विश्वका उत्कृष्ट ३० टोलीभित्र पर्न सफल भएका छन् । ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि आयोजना गरिने कोडेभर विश्वकै ठुलो वार्षिक एआई, कोडिङ तथा रोबोटिक्स प्रतियोगिता हो । 

संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग आबद्ध प्रतियोगिताले युवा प्रतिभाहरूलाई वास्तविक जीवनका समस्याको समाधान खोज्ने प्रविधिमूलक नवप्रवर्तन विकास गर्न प्रेरित गर्दै आएको छ । नेपाली टोलीहरूले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि तथा औषधि व्यवस्थापनजस्ता विषयमा आधारित परियोजनामार्फत अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका हुन् ।

प्रतियोगितामा एशिया प्यासिफिक स्कूल, रिलायन्स पब्लिक स्कूल, डेजी बोर्डिङ इङ्ग्लिस सेकेन्डरी स्कुल तथा स्किल्सअप ग्लोबलसँग आबद्ध विद्यार्थीहरूले विभिन्न विधामा पुरस्कार जितेका छन् । प्रतियोगितामा प्राप्त उपलब्धिको सम्मानस्वरूप स्किल्सअप ग्लोबल र नीमा एजुकेशन फाउन्डेसनले काठमाडौंमा सफलता उत्सव तथा सम्मान समारोह आयोजना गरेको थियो । आयोजकले नेपाली विद्यार्थीको सिर्जनशीलता, प्रविधिमैत्री सोच र नवप्रवर्तन क्षमताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाएको बताएका छन् ।