काठमाडौं, जेठ २६ :

गोकर्णेश्वर नगरपालिकाले लागू औषध दुव्र्यसनबाट मुक्त भई पुनःस्थापनाको प्रक्रियामा रहेका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुन्दरीजलस्थित आश्रय समूहलाई सिमेन्ट ब्लक बनाउने मेसिन हस्तान्तरण गरेको छ।

आज आयोजित एक कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उक्त मेसिन आश्रय समूहलाई हस्तान्तरण गरेका हुन्। साथै, पुनःस्थापना केन्द्रमा रहेका ती व्यक्तिहरूको सीप विकास तथा स्वरोजगार प्रवर्द्धनका लागि नुडल्स बनाउने तालिमसमेत प्रदान गरिने रिसालले बताए ।

 मेयर रिसालले ब्लक तथा नुडल्स उत्पादनमार्फत सुधार केन्द्रमा रहेका व्यक्तिहरूले व्यावसायिक रूपमा उत्पादन तथा उद्यमशीलता विकास गर्न सक्ने विश्वास व्यक्त गरे।  लागू औषधको कुलतबाट मुक्त भई समाजमा पुनःस्थापित हुन प्रयासरत व्यक्तिहरूलाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्ने र उत्पादनमूलक कार्यमा संलग्न हुने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। 

हाल आश्रय समूहमा करिब १५० जना लागू औषध दुव्र्यसनबाट मुक्त हुने प्रक्रियामा रहेका व्यक्तिहरू आश्रय लिएर बसिरहेका छन्। नगरपालिकाको यो पहलले उनीहरूको पुनःस्थापना, सीप विकास तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।