
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले ती क्षेत्र फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट र दृढ धारणा सार्वजनिक हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते संसद्मा प्रश्नोत्तरका क्रममा व्यक्त गरेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएपछि सरकारको आधिकारिक दृष्टिकोण अझ स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याए। आङ्देम्बेले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनैपर्ने बताए ।
उनले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहललाई प्रभावकारी बनाउन सरकार अग्रसर हुनुपर्ने बताए। साथै, सरकारले गरेका सकारात्मक काममा विपक्षी दलको साथ रहने उल्लेख गर्दै राष्ट्रिय भू–भागको विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति उचित नभएको धारणा राखे।
आङ्देम्बेले नेपाली कांग्रेसले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सङ्कटका विषयमा दलगत लाभ–हानिभन्दा देशको हितलाई प्राथमिकता दिँदै आएको स्मरण गराउँदै वर्तमान सरकारका सन्दर्भमा पनि सोही नीति लागू हुने स्पष्ट पारे।
यसैबीच, उनले रवि लामिछानेको भारत भ्रमणको प्रसङ्ग उठाउँदै सीमा समस्याबारे कुनै ठोस छलफल नगरेको भन्दै आपत्ति जनाए। लामिछानेले सीमा विवादको विषय “ढोल बजाएर छलफल गर्ने विषय होइन” भनी दिएको अभिव्यक्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।
“दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ समेत उच्चारण नगरी किन फर्किनुभयो ? हामीलाई पनि थाहा छ, यस्ता विषय ढोल बजाएर समाधान हुँदैनन्। यसको आफ्नै कूटनीतिक मापदण्ड र प्रक्रिया हुन्छ,” आङ्देम्बेले संसद्मा भने।
उनले राष्ट्रिय हितसँग जोडिएका विषयमा सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।