काठमाडौं, जेठ २८ :

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले नगर क्षेत्रको शान्ति सुरक्षा, सरसफाइ तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा नगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

नगरपालिकाद्वारा आयोजित नगर प्रहरी कर्मचारीहरूको पदोन्नति तथा दर्ज्यानी चिह्न वितरण कार्यक्रममा बोल्दै उनले पदोन्नतिसँगै कर्मचारीहरूको जिम्मेवारी र उत्तरदायित्व पनि बढ्ने भएकाले नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित भएर काम गर्न आग्रह गरे।

नगर प्रमुख कार्कीले नगर प्रहरी संगठनको क्षमता सुदृढीकरण, कार्यसम्पादनमा प्रभावकारिता अभिवृद्धि तथा कर्मचारीको मनोबल उच्च राख्ने उद्देश्यले पदोन्नति प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले कर्मचारीहरूको क्षमता अभिवृद्धि र वृत्ति विकाससम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

नगरसभाको हिउँदे अधिवेशनबाट पारित नगर प्रहरी पदोन्नति सम्बन्धी प्रस्तावअनुसार नगरपालिकाले ११ जना नगर प्रहरी कर्मचारीको पदोन्नति गरेको हो।

पदोन्नति सूचीअनुसार सुविन कार्की नगर प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा पदोन्नति भएका छन्। त्यसैगरी लक्ष्मण रोका, हरिहर सिम्खडा, साकार ढकाल, मनिष पुडासैनी र अनुस तामाङ नगर प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन्।

यस्तै गायत्री पुडासैनी, राजु थापा, प्रमोद थापा मगर, राजाराम फुयाल तथा पुष्कर चापागाईं नगर प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएका छन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले वरिष्ठ सई सुविन कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए भने अन्य पदमा पदोन्नति भएका कर्मचारीलाई वरिष्ठ सई कार्कीले दर्ज्यानी चिह्न वितरण गरेका थिए।

सो अवसरमा उपप्रमुख शान्ता थापाले नगर प्रहरी स्थानीय सरकारको प्रत्यक्ष अनुहार भएकाले नागरिकसँगको व्यवहारलाई थप मर्यादित, सेवामुखी र संवेदनशील बनाउनुपर्नेमा जोड दिइन्। उनले पदोन्नतिले कर्मचारीहरूको मनोबल वृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ समर्पित भएर कार्यसम्पादन गर्न शुभकामना दिइन्।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले पदोन्नति केवल सुविधा र सम्मानको विषय नभई थप जिम्मेवारी बहन गर्ने अवसर भएको उल्लेख गर्दै नगर प्रहरी कर्मचारीलाई कानुनी दायराभित्र रही अनुशासित, पारदर्शी र नतिजामुखी ढंगले काम गर्न आग्रह गरे।

पदोन्नति तथा दर्ज्यानी चिह्न वितरण कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।