काठमाडौं, असार १ :

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छने । लोकसेवा आयोगको ७६ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष  र बलिदान गरेका नेपाली जनताको चाहना सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिव्र विकास, शान्ति र प्रगति भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले जनताको अभिष्ट पूरा गर्न आधुनिक समयमामुलुकको  राज्य संयन्त्रलाई समयानुकुल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको धारणा राखे ।

प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सके लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्ने उनले बताए । राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरुप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पाए । 

उनले आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउदै कर्मचारी छनौटमा समयसापेक्ष परीक्षण विधि/प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ लोकसेवा आयोगले विशेष ध्यान दिनुपर्ने बताए । राष्ट्रपति पौडेलले आयोगप्रतिको भरोसा र विश्वासलाई अझ थप सुदृढ गर्दै सबल बनाउन निरन्तर प्रयास रहने विश्वास समेत व्यक्त गरे ।