काठमाडौं, असार १ :

गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच उपचारसम्बन्धी सम्झौता भएको छ। नगरवासीलाई सहज, गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो  सम्झौता गरिएको हो ।

सोमबार आयोजित एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल र काठमाडौं मेडिकल कलेजका तर्फबाट डा. सुनील शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका नागरिकले काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन्। यसअघि नै काठमाडौं मेडिकल कलेजसँग एक लाख तीन हजार रुपैयाँसम्मको उपचार सुविधा सम्बन्धी सहकार्य रहेको र केएमसीको दुवाकोटस्थित अस्पतालमा समेत ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको नगरप्रमुख रिसालले जानकारी दिए।

सम्झौतापछि आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख रिसालले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेर नागरिकले ज्यान गुमाउनुपरेका घटनाहरू आफूले नजिकबाट देखेको उल्लेख गर्दै नयाँ सम्झौताले यस्ता बिरामीलाई ठूलो राहत पुग्ने बताए।

उनले विपन्न नागरिकका लागि उपलब्ध सरकारी सहायता, स्वास्थ्य बिमा तथा नगरपालिकाको सहुलियत कार्यक्रमलाई समेटेर मृगौला प्रत्यारोपणका बिरामीलाई थप आर्थिक सहयोग सुनिश्चित गरिएको जानकारी दिए। “अब उपचारका लागि भारत धाउनुपर्ने बाध्यता कम हुनेछ। काठमाडौं मेडिकल कलेजमै अत्याधुनिक प्रविधिबाट मृगौला प्रत्यारोपण सम्भव छ र नगरवासीले उल्लेखनीय सहुलियत पाउनेछन्,” उनले भने।

रिसालले स्वास्थ्य क्षेत्रमा डा. सुनील शर्माले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्तो सहकार्य महत्वपूर्ण रहेको बताए।

यसैगरी काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा. सुनील शर्माले गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई मृगौला प्रत्यारोपण सेवामा विशेष सुविधा उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार नगरपालिकाको सिफारिस प्राप्त बिरामीले मृगौला प्रत्यारोपण गर्दा अस्पतालतर्फबाट अधिकतम आठ लाख २४ हजार रुपैयाँसम्मको उपचार सुविधा निःशुल्क प्राप्त गर्न सक्नेछन्।

डा. शर्माले अस्पतालभित्रको सेवा, शल्यक्रिया तथा आवश्यक औषधिसहितको उपचार खर्चमा व्यापक सहुलियत प्रदान गरिने उल्लेख गर्दै विभिन्न सरकारी सहायता तथा नगरपालिकाको सहयोगसमेत जोडिँदा मृगौला प्रत्यारोपणका बिरामीले करिब १० लाख रुपैयाँसम्मको आर्थिक राहत प्राप्त गर्न सक्ने बताए।

“मृगौला प्रत्यारोपण जस्तो जटिल उपचारका लागि अब विदेश जानुपर्ने बाध्यता कम हुँदै गएको छ। नेपालमै उपलब्ध दक्ष जनशक्ति र आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा दिन हामी सक्षम छौँ,” उनले भने। कार्यक्रममा स्वास्थ्य सेवा क्षेत्रमा स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिएको थियो। 

नगरपालिका र काठमाडौं मेडिकल कलेजबीच भएको यो सम्झौताले विशेषगरी आर्थिक रूपमा कमजोर नागरिकलाई उपचार सेवामा पहुँच बढाउनुका साथै स्वास्थ्य उपचारको आर्थिक भार कम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

सम्झौता हस्ताक्षर कार्यक्रममा नगरपालिकाका उपमेयर सान्नानी लामा, वडाध्यक्ष तथा जनप्रतिनिधिहरु, काठमाडौं मेडिकल कलेजका पदाधिकारी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।