काठमाडौै, असार ४ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई राहदानी छपाइ ठेक्का प्रकरणमा बयानका लागि उपस्थित हुन सूचना जारी गरेको छ। आयोगले  बुढानीलकण्ठ नगरपालिका–२ स्थित राणाको निवासको जलेर बाँकी रहेको भित्तामा नै सूचना टाँसेको छ।

गत भदौ २४ गते भएको आगजनीबाट क्षतिग्रस्त घरको केही भित्ता मात्र बाँकी रहेका छन्। अख्तियारको टोलीले त्यही बाँकी रहेको भित्तामा हाजिर हुन सम्बन्धी सूचना टाँसेको हो।

अख्तियारले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर भएको भन्ने उजुरीमाथि अनुसन्धान गरिरहेको छ। सोही प्रकरणमा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानकै क्रममा पूर्वपरराष्ट्रमन्त्री राणालाई पनि बयानका लागि उपस्थित हुन भनिएको हो।

आयोगद्वारा जारी सूचनामा राहदानी छपाइ सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानका क्रममा बयान लिन आवश्यक भएकाले सूचना बुझेको वा घरदैलोमा टाँस गरिएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगमा उपस्थित हुन निर्देशन दिइएको छ। तोकिएको अवधिमा उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख छ।

हाल आरजु राणा देउवा आफ्ना पति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विदेशमा रहेकी छन्। जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा र राणा उपचारका लागि सिंगापुर हुँदै हङकङ पुगेको भनिए पनि उनीहरूको अवस्थाबारे सार्वजनिक रूपमा कुनै आधिकारिक जानकारी आएको छैन।