
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिले संसद् मात्र नभई मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि समेत गम्भीर प्रश्न उठाएको बताएकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीबाट निरन्तर रूपमा जिम्मेवार र स्पष्ट जवाफको अपेक्षा गरिएको भए पनि प्रधानमन्त्रीको कार्यालयबाट जवाफदेहिताभन्दा मौनता र शक्ति प्रदर्शनको संकेत देखिएको आरोप लगाइन्।
संवैधानिक निकायहरूको स्वतन्त्रताप्रति गम्भीर चासो व्यक्त गर्दै ओलीले प्रधानमन्त्री तथा उनको सचिवालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमले थप चिन्ता बढाएको बताइन्। उनका अनुसार प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई निर्देशन दिनुका साथै करिब नौ घण्टासम्म नियन्त्रणमा राखेझैँ गरी आफूहरूले चाहेको कदम चाल्न दबाब दिएको भन्ने विषय सार्वजनिक भएको छ।
उनले उक्त समाचार असत्य भए सरकारले तत्काल खण्डन गर्नुपर्ने र सत्य भए संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेपका रूपमा लिनुपर्ने धारणा राखिन्।
“यदि यो सत्य हो भने संवैधानिक निकायमाथि गरिएको प्रत्यक्ष हस्तक्षेप हो,” उनले भनिन्, “नयाँ नेपालको नजिर यही हो त?”