
गोकर्णेश्वर नगरपालिकाले नगरभित्र रहेका अभिभावकविहीन, बेसहारा, सडकआश्रित तथा मानसिक सन्तुलन गुमाएका नागरिकहरूको संरक्षणका लागि नयाँ र उदाहरणीय कदम चालेको छ। मानवता र नागरिकको बाँच्न पाउने मौलिक अधिकारलाई आत्मसात गर्दै नगरपालिकाले मानवसेवा आश्रमसँग सहकार्य गरेको हो।
नगरप्रमुख दीपककुमार रिसालको उपस्थितिमा आयोजित एक कार्यक्रमकामा दुई पक्षबीच सडकआश्रित सहयोगापेक्षी नागरिकहरूको उद्धार, संरक्षण, उपचार र पुनःस्थापनाका लागि सम्झौता भएको छ।
सम्झौता कार्यक्रममा बोल्दै नगरप्रमुख रिसालले हरेक नागरिकलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार रहेको उल्लेख गरे। "कसैको घर छैन, कसैको सहारा छैन, त कसैले आफ्नो मानसिक सन्तुलन गुमाएका छन्। तर उनीहरू पनि हामीजस्तै नागरिक हुन्," नगरप्रमुख रिसालले भने, "नगरभित्र अब कोही पनि बेसहारा हुनुपर्ने छैन। जसको कोही छैन, उसका लागि गोकर्णेश्वर नगरपालिका अभिभावक बनेर उभिनेछ।"
यस सम्झौतासँगै गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र कोही पनि व्यक्ति बेसहारा अवस्थामा सडकमा भौंतारिनु पर्ने स्थिति अन्त्य हुने विश्वास गरिएको छ। मानसिक सन्तुलन गुमाएर सडकमा कष्टकर जीवन बिताउन बाध्य भएकाहरूलाई आश्रमको समन्वयमा उद्धार गरी उचित उपचार र हेरचाह गरिनेछ। सो अवसरमा उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
नगरपालिकाले आफ्ना नगरवासीहरूलाई पनि यस मानवीय अभियानमा जोडिन अपिल गरेको छ। नगरभित्र कोही पनि त्यस्ता सहयोगापेक्षी वा अलपत्र परेका व्यक्तिहरू देखिएमा तुरुन्तै सम्बन्धित वडा कार्यालय, स्थानीय प्रहरी वा मानवसेवा आश्रममा सम्पर्क गरी उद्धार कार्यमा सहयोग पुर्याउन नगरपालिकाले आग्रह गरेको छ। 'मानवता जोगाऔं, जीवन बचाऔं' भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानले नगरमा सामाजिक सुरक्षा र मानवीय सद्भावको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।