काठमाडौै, असार ५ :

राष्ट्रिय सभाका सदस्यहरुले गत वैशाखमा वाग्मतीलगायत नदी किनारबाट हटाइएका सुकुमबासीको खान, बस्न र औषधी उपचार गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमबासीले औषधि र पानी पनि नपाएको दाबी गरिन् । सांसद मदनकुमारी शाह (गरिमा) ले सुकुमबासीको दुई महिना बितिसक्दा पनि उचित व्यवस्था गर्न नसकिएको बताए ।

 राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले घरेलु हिंसा पीडितलाई न्याय दिने व्यवस्था मिलाउन माग गरिन् । राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले स्थानीयस्तरबाट आएको नीति तथा कार्यक्रम बजेटमा नपरी पहुँचका आधारमा परेको गुनासो गरिन् ।

राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयमा गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर नौ घण्टासम्म दबाबमा राखेर काम गर्न लगाएकामा आपत्ति जनाए ।

राष्ट्रियसभा सदस्य  नारायणदत्त मिश्रले मुक्त कमैयाका लागि ठूला बस्ती व्यवस्था गरेपनि रोजगारीको व्यवस्था नहुँदा समस्या भएको बताए । राष्ट्रियसभा सदस्य भुवन सुनारले अन्तरजातीय विवाह गर्ने छोरीको बर्दियामा ज्यूँदै क्रिया गर्नेलगायत दलित समुदायमाथि भइरहेका ज्यादतीका विषयमा कानूनी कारबाही नभएको बताए ।

राष्ट्रियसभा सदस्य युवराज शर्माले बन्द भएको चिया उद्योगका विषयमा के गरिरहेको छ भनी जिज्ञासा राखे । सांसद राजेन्द्रलक्ष्मी गैह्रेले निर्माण व्यवसायीका सन्दर्भमा मन्त्रीले दिएका अभिव्यक्तिबारे सरकारको ध्यानाकर्षण गराइन् ।