
ऐतिहासिक रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज भोटो देखाउने कार्यक्रम छ ।
राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन अनुसार बेलुकी साढे ५ बजे राष्ट्रपति रामचन्द्र पौडेल त्यहाँ पुग्ने भएका छन् ।करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा आज राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।
जात्रा व्यवस्थापन समितिले भोटो देखाउने कार्यक्रमका लागि प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारमा मन्त्रीहरु पनि बोलाएको छ । तर हालसम्म प्रधानमन्त्री शाहको सचिवालयले उनी जाने, नजानेबारे केही टुंगो नदिएको दिएको छैन् ।
प्रचलनअनुसार राष्ट्रप्रमुख सरिक हुने सास्कृतिक जात्रा–पर्वमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ ।
भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा आयोजना गरिनेछ ।
वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । यसैक्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ।
संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो । राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छ्न् ।
भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको छ ।