
कागेश्वरी मनोहरा नगरपालिकाका फायर फाइटर तथा नगर प्रहरीलाई दुईदिने अग्नि सुरक्षा तथा आपतकालीन प्रतिकार्य तालिम प्रदान गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग, भोलन्टियर क्रप्स नेपालको स्थानीय साझेदारी तथा फायर एन्ड रेस्क्यु एकेडेमी नेपालको प्राविधिक सहकार्यमा उक्त तालिम प्रदान गरिएको हो ।
थलीस्थित नगरपालिकाको कार्यालयमा यही असार ८ र ९ गते भएको दुई दिने तालिममा सहभागी फायर फाइटर तथा नगर प्रहरीलाई आगलागी नियन्त्रणका उपाय, अग्नि सुरक्षासम्बन्धी विधि, उद्धार कार्य तथा आपतकालीन अवस्थाका बेला अपनाउनुपर्ने प्रतिकार्य रणनीतिबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। डिजिटल प्रविधि तथा विभिन्न उपकरणको प्रयोगमार्फत सैद्धान्तिक ज्ञान दिइनुका साथै स्थलगत व्यावहारिक अभ्याससमेत गराइएको थियो।
तालिमको समापन समारोहमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले नगरलाई सुरक्षित बनाउन तथा प्राकृतिक एवं अन्य विपद्का समयमा प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले तालिम सफलतापूर्वक सम्पन्न गर्ने नगर प्रहरी र फायर फाइटरहरूलाई प्रमाणपत्र वितरण गरेका थिए भने प्रशिक्षक तथा सहजकर्ताहरूलाई कदरस्वरूप मायाको चिनो प्रदान गरेका थिए। समापन कार्यक्रममा सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको उल्लेख गर्दै यसबाट प्राप्त ज्ञान तथा सीपले कार्यक्षेत्रमा ठूलो सहयोग पुग्ने बताएका थिए।
नगरपालिकाले केही महिनाअघि मात्रै जापान सरकारको सहयोगमा अत्याधुनिक दमकल भित्र्याएको थियो। उक्त दमकलले नगरपालिकाभित्र मात्र नभई आसपासका स्थानीय तह तथा जिल्लामा हुने आगलागीका घटनामा समेत प्रभावकारी रूपमा सेवा दिँदै आएको छ। स्थानीयवासीको जनधनको सुरक्षा तथा आगलागी नियन्त्रणमा यसले महत्वपूर्ण योगदान पुर्याइरहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, द्रुत उद्धार तथा सुरक्षित समुदाय निर्माणका लागि आगामी दिनमा समेत यस्ता तालिम तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।