
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पार्टीको प्रथम महाधिवेशनले रास्वपालाई थप सुदृढ, एकीकृत र जिम्मेवार बनाउने बताएका छन्।
चितवनको भरतपुरस्थित उद्योग संघ प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनअन्तर्गत मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशन पार्टी जीवनको महत्वपूर्ण लोकतान्त्रिक अभ्यास भएको बताए।
“रास्वपाभित्र गुट–उपगुट छैन। महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात् गर्दै पार्टीलाई अझ बलियो बनाउने हाम्रो जिम्मेवारी हो,” उनले भने, “महाधिवेशनपछि पार्टी थप एकीकृत र जिम्मेवार ढङ्गले अघि बढ्छ भन्नेमा कुनै शङ्का छैन।”
उनले देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले पार्टीको भावना र भविष्यलाई केन्द्रमा राखेर मतदान गरिरहेको उल्लेख गर्दै यही नै पार्टीभित्रको लोकतन्त्र भएको बताए। महाधिवेशनबाट चयन हुने नेतृत्वले आमनागरिकको अपेक्षाअनुसार रास्वपालाई अगाडि बढाउने विश्वाससमेत उनले व्यक्त गरे।
तर महाधिवेशनका क्रममा देखिएका घटनाक्रमले भने पार्टीको व्यवस्थापन र आन्तरिक समन्वयमाथि प्रश्न उठाएको छ। नयाँ राजनीतिक शक्ति भनेर स्थापित हुन खोजेको रास्वपाको पहिलो महाधिवेशनमा उम्मेदवार तथा प्रतिनिधिहरूको असन्तुष्टि सार्वजनिक रूपमा देखिएको छ।
मतदान प्रक्रिया जारी रहँदा केही महाधिवेशन प्रतिनिधि मतदान नगरी नै घर फर्किएको बताइएको छ। यस्तै, केन्द्रीय सदस्य पदका उम्मेदवारहरूले उम्मेदवार नामावलीको क्रम निर्धारणप्रति असन्तुष्टि जनाएका छन्।
केन्द्रीय सदस्यका उम्मेदवार गणेश कार्कीले सामाजिक सञ्जालमार्फत उम्मेदवार सूचीको क्रमबारे प्रश्न उठाएका छन्। उनले फेसबुकमा लेखेका छन्, “प्रारम्भिक सूचीमा मभन्दा तल दर्ता भएकाहरूको नाम मेरोभन्दा माथि कसरी भयो ? मेरोभन्दा पहिले दर्ता भएकाहरू मभन्दा तल कसरी पुगे ?”
यसैगरी रास्वपाका अर्का नेता यज्ञमणी न्यौपाने, राजीव खत्री र आशिका तामाङले पनि आफ्नो नाम नम्बरका विषयमा सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।
महाधिवेशनस्थलको व्यवस्थापन, मतदान प्रक्रिया तथा उम्मेदवारहरूको गुनासो सार्वजनिक हुनुले रास्वपाको आन्तरिक व्यवस्थापन क्षमतामाथि बहस सुरु भएको छ। यद्यपि पार्टी नेतृत्वले महाधिवेशनले संगठनलाई थप मजबुत बनाउने र नयाँ नेतृत्वमार्फत पार्टीलाई सशक्त ढङ्गले अघि बढाउने दाबी गरेको छ।