
काठमाडौं, असार १२ :
रास्वपाका निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएका छन् । बुर्लाकोटीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले फेसबुकमा पार्टीको हित नै सर्वोच्चता ठानी आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पार्टीको संस्थापक सदस्यसमेत रहेका उनले करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री हुँदै एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
यसअघि ललितपुर-२ का सांसद जगदीश खरेलले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । उपसभापति खुला १ पदका लागि भने अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ । उपसभापति महिलाका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ ।