चितवन, असार १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महिलातर्फको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

यस्तै  महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । पाँच प्रतिस्पर्धीलाई पछि पार्दै आचार्य  निर्वाचित भएका हुन् ।

त्यस्तै नवनिर्वाचित महामन्त्री आचार्यले पहिलो ऐतिहासिक महाधिवेशनसम्म जोडिने सम्पूर्ण व्यक्तिहरू संस्थापन भएकाले कोहि पनि कुनै समूहको भन्ने आरोप सहि नभएको बताए । आचार्यले पार्टीलाई अझबढी पारदर्शी, विधिसम्मत र पार्टीलाई नागरिकप्रति उत्तरदायी बनाउने दिशामा महामन्त्रीका रूपमा आफ्नो भूमिका रहने धारणा राखे ।

यस्तै रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । रास्वपाको सभापतिमा रवि लामिछाने र खुल्ला तर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।