काठमाडौं, असार १२ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन तथा दस्तावेजीकरणको कार्य सुरु गरेको छ। यसअन्तर्गत नगरपालिकाले अमूर्त सांस्कृतिक सम्पदाको अध्ययनसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

शुक्रबार नगर कार्यपालिकाको कार्यालय, डाँछीमा आयोजित कार्यक्रममा नगरपालिकाको अध्ययन तथा अनुसन्धान शाखाले तयार पारेको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको हो। प्रतिवेदनमा नगरपालिकाका विभिन्न वडामा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको प्रारम्भिक विवरण समेटिएको छ।

प्रतिवेदनअनुसार वडा नम्बर १ मा कागेश्वरी मन्दिर, सेतीदेवी मन्दिर, शिकारीदेवी–शिवकाली मन्दिर, दोलखा भिमसेन, सिद्धीगणेश, मणिलिङ्गेश्वरलगायत हिन्दू धार्मिक स्थल तथा न्गिमा पाल्म्युल बौद्ध आधारभूत विद्यालयसँग सम्बन्धित बौद्ध सम्पदाको पहिचान गरिएको छ। त्यसैगरी वडा नम्बर ६ मा नवदुर्गा मन्दिर, लक्ष्मीनारायण मन्दिर, महादेव मन्दिर, काशीविश्वनाथ मन्दिर, शिव पाञ्चायन मन्दिरलगायत हिन्दू धार्मिक स्थल तथा मुस्लिम समुदायको उमर मस्जिदलाई पनि सूचीकृत गरिएको छ।

प्रतिवेदन प्रस्तुतिपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कार्कीले अध्ययनलाई नगरको सांस्कृतिक सम्पदा संरक्षणतर्फको महत्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरे। उनले प्रारम्भिक प्रतिवेदनले आधार तयार गरे पनि अझै धेरै सांस्कृतिक सम्पदा, स्थानीय परम्परा, जात्रा, कला, सीप तथा सांस्कृतिक अभ्यासहरू समेटिन बाँकी रहेको उल्लेख गर्दै अध्ययनलाई थप व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले भावी पुस्ताका लागि अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न पहिचान मात्र पर्याप्त नहुने बताउँदै सबै विवरणलाई डिजिटल अभिलेखीकरण गर्नुपर्नेमा जोड दिए।

"हामीले संकलन गरेका सम्पूर्ण जानकारीलाई डिजिटल दस्तावेजका रूपमा सुरक्षित राख्नुपर्छ, ताकि हाम्रो इतिहास, संस्कृति र पहिचान भावी पुस्तासम्म सुरक्षित रहोस्," मेयर कार्कीले भने।

कार्यक्रममा उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी तथा विभिन्न वडा अध्यक्षहरूले अध्ययनलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा नगरपालिकाका कर्मचारी, संस्कृतिविद् तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

नगरपालिकाले यो अध्ययनलाई पूर्णता दिँदै स्थानीय धार्मिक, सांस्कृतिक तथा अमूर्त सम्पदाको व्यवस्थित अभिलेखीकरण र संरक्षणका लागि आगामी दिनमा थप अनुसन्धान तथा दस्तावेजीकरणलाई निरन्तरता दिने जनाएको छ।