
पापे गुएयेले दोस्रो हाफमा लामो दूरीबाट दुई शानदार गोल गरेपछि सेनेगलले इराकलाई ५–० ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ।
शुक्रबार टोरन्टो स्टेडियममा भएको समूह ‘आई’ को अन्तिम खेलमा इराक १० खेलाडीमा सीमित भएको थियो र सेनेगलसामु निरीह देखियो।
इस्माइला सारले प्रतियोगितामा आफ्नो तेस्रो गोल गर्दै दोस्रो हाफमा सेनेगलको आक्रामक प्रदर्शनलाई थप मजबुत बनाए। लायन्स अफ टेराङ्गा ले समूहमा तीन अंक र प्लस–२ गोल अन्तरसहित तेस्रो स्थानमा रहेर समूह चरण समाप्त गरेको छ।
हाल सेनेगल उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीहरूमध्ये पाँचौँ स्थानमा छ। यद्यपि, उनीभन्दा तल रहेका चार टोलीले अझै आफ्नो अन्तिम समूह चरणको खेल खेल्न बाँकी छ।
हाबिब डियाराले खेलको चौथो मिनेटमै सेनेगललाई अग्रता दिलाएका थिए भने ८२औँ मिनेटमा इलिमान नियायले अर्को लामो दूरीको शानदार गोल गर्दै जितलाई ५–० मा पुर्याए।
तीनै समूह चरणका खेलमा पराजित भएको इराक दोस्रो पटक विश्वकप खेले पनि अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि इराकले सन् १९८६ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो।
इराकको अवस्था १३औँ मिनेटमै थप कठिन बन्यो, जब डिफेन्डर रेबिन सुलाकालाई स्पष्ट गोल गर्ने अवसर रोकेको भन्दै रेफ्री एन्थोनी टेलरले भिडियो सहायक रेफ्रीको समीक्षा पछि रातो कार्ड देखाए।
टेलरले सुरुमा पहेंलो कार्ड दिएका थिए। तर साडियो मानेलाई पछाडिबाट तानेर गोल गर्ने अवसर रोकेको देखिएपछि भिडियो समीक्षा गरेपछि उनले निर्णय परिवर्तन गर्दै सुलाकालाई मैदानबाट बाहिर पठाए।
पहिलो हाफमा अतिरिक्त खेलाडीको फाइदा उठाउन नसकेको सेनेगलले दोस्रो हाफमा भने खेलमाथि पूर्ण नियन्त्रण जमायो।
५६औँ मिनेटमा लामिन कामाराले इराकको रक्षापंक्तिबाट बल खोसेर बाइलाइनसम्म पुगेपछि दिएको लो–क्रसमा इस्माइला सारले सहज रूपमा गोल गर्दै दोस्रो हाफको गोल वर्षाको सुरुआत गरेका थिए।
सारको गोलपछि मैदान प्रवेश गरेका पापे गुएयेले पनि तुरुन्तै आफ्नो प्रभाव देखाए।
५९औँ मिनेटमा उनले बक्सको दायाँ कुनानजिक इस्माइला सारको पास नियन्त्रणमा लिए त्यसपछि बायाँतर्फ ड्रिबल गर्दै बायाँ खुट्टाबाट शानदार घुमाउरो प्रहार गरे। उनको प्रहार इराकका गोलरक्षक अहमद बासिलको पहुँचभन्दा बाहिर हुँदै सिधै गोलपोस्टको माथिल्लो कुनामा जाली चुम्यो।
त्यसपछि ७१औँ मिनेटमा इलिमान नियायको उछिट्टिएको पासमा दौडिँदै पुगेका गुएयेले शक्तिशाली हाफ–भली प्रहार गर्दै अर्को उत्कृष्ट गोल गरे। उनको प्रहार यति तीव्र थियो कि गोलरक्षक बासिलले प्रतिक्रिया जनाउन समेत नपाउँदै बल जालीमा पुगेको थियो।