
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी शक्तिहरूबीच समयमै एकता भएको भए पछिल्लो निर्वाचनमा ठूलो हार व्यहोर्नु नपर्ने बताएका छन्।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई आइतबार सम्बोधन गर्दै खनालले नेकपा (एमाले) र नेकपाबीच चुनावअघि नै कार्यगत एकता भएको भए वामपन्थीहरूले करिब १०० सिट जित्ने दाबी गरे।
उनले भने, “यदि एमाले र नेकपाले निर्वाचनअघि नै कार्यगत एकता गरेका भए करिब १०० सिट वामपन्थीको हुन्थ्यो। आज यो अवस्था आउने थिएन, देशको परिस्थिति पनि फरक हुन्थ्यो। हामी इतिहास र जनताले अपेक्षा गरेका कामअनुसार अघि बढ्न सक्यौं कि सकेनौं भन्ने विषयमा आत्मसमीक्षा गर्ने बेला आएको छ।”
खनालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै अहिलेको शासनशैलीप्रति पनि आलोचना गरे। उनले वर्तमान सरकार सञ्चालन शैलीलाई ‘तानाशाही प्रवृत्ति’ भएको आरोप लगाउँदै वामपन्थी शक्तिहरू कमजोर हुँदा यस्तो अवस्था सिर्जना भएको दाबी गरे।
उनले वामपन्थी एकता आजको आवश्यकता मात्र नभई लामो समयदेखि अपरिहार्य विषय रहेको बताए। “कतिपयलाई आजको उपस्थिति आश्चर्य वा अनौठो लागेको हुन सक्छ। तर वामपन्थी एकता आज मात्रै होइन, विभिन्न कालखण्डदेखि आवश्यक थियो,” उनले भने। खनालले विगतमा नेताहरूबीचको अहंकार र विभाजनकारी प्रवृत्तिका कारण एकता हुन नसकेको स्वीकार गरे।
उनले अबको यात्रामा वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। “आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाऔं। त्यसपछि मात्रै देशमाथि साम्राज्यवादी शक्तिहरूले सिर्जना गरिरहेका चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सकिन्छ,” उनले भने।
खनालले आत्मसमीक्षा, आपसी सहकार्य र दीर्घकालीन राजनीतिक एकतामार्फत वामपन्थी आन्दोलनलाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।