
पाँच पटकको विश्वकप विजेता ब्राजिलले अमेरिकाको ह्युस्टनमा सोमबार भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
दोस्रो हाफमा विकल्पका रूपमा मैदान प्रवेश गरेका गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको छैटौं मिनेटमा निर्णायक गोल गर्दै खेल अतिरिक्त समयमा पुग्नुअघि नै ब्राजिललाई रोमाञ्चक जित दिलाए।
अब ब्राजिलले अन्तिम १६ मा आइभरी कोस्ट वा नर्वेमध्ये एकसँग आईतबार अमेरिकाको न्यू जर्सीस्थित इस्ट रदरफोर्डमा प्रतिस्पर्धा गर्नेछ।
यसअघि खेलको ५६औं मिनेटमा गाब्रिएल मगलहाएसको पासमा कासेमिरोले हेडमार्फत गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याएका थिए। गोलकिपर जियोन सुजुकीले बचाउने प्रयास गरे पनि बल जाली चुम्न सफल भएको थियो।
जापानले खेलको २९औं मिनेटमा अग्रता लिएको थियो। ब्राजिलको गलत पासलाई मिडफिल्डमा काइशु सानोले नियन्त्रणमा लिँदै हाफ सर्कल बाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो।
५८औं मिनेटमा प्रतियोगितामा यसअघि चार गोल गरिसकेका भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने अवसर पाए पनि उनको प्रहार गोलकिपर सुजुकीले बचाउँदै बाहिर पठाए।
दोस्रो हाफको सुरुवातमै ब्राजिलले बराबरी गर्ने दुई उत्कृष्ट अवसर सिर्जना गरेको थियो। ५२औं मिनेटमा ब्रुनो गिमारेसको हेडर सुजुकीले रोके भने त्यसको केही समयपछि कासेमिरोको अर्को हेडर डिफेन्डर र गोलकिपर सुजुकीको अनुहारमा लागेर फर्किएको थियो।
जापानले हालसम्म विश्वकपको नकआउट चरणमा कुनै पनि खेल जित्न सकेको छैन।
ब्राजिल र जापानबीच हालसम्म १५ खेल भएका छन् जसमा ब्राजिलले १२ खेल जितेको छ। दुई खेल बराबरीमा सकिएका छन् भने जापानले गत अक्टोबरमा टोकियोमा भएको मैत्रीपूर्ण खेलमा पहिलो पटक ब्राजिललाई पराजित गरेको थियो।
रियो डी जेनेरियोको कोपाकाबाना समुद्र तटमा आयोजित फ्यान फेस्टमा ब्राजिलका समर्थकहरूले आफ्नो टोलीले जापानविरुद्धको सुरुआती गोलको घाटा उल्टाउँदै २–१ को जित निकालेपछि उत्साहपूर्वक खुसीयाली मनाएका छन् ।