
गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रको विकट भूगोललाई सुगमतातर्फ लैजान सडक पूर्वाधार निर्माणलाई तीव्र पारेको छ।
'कर्णाली' उपनामले समेत चिनिने सुन्दरीजल माथिल्लो क्षेत्रका ओखरेनी, चिलाउने र मूलखर्क लगायतका बस्तीहरूमा पुग्ने सडकमा धमाधम ढलान गरिँदैछ । सुन्दरीजलदेखि सुरु भएको सडक निर्माण कार्य अहिले मूलखर्कसम्म पुगेको छ। नगरपालिकाको २ करोड रुपैयाँभन्दा बढीको लागतमा ओखरेनीसम्म पुर्याउने लक्ष्य राखिएको छ।
स्थलगत निरीक्षणका क्रममा मेयर दीपक रिसालले नगरपालिकाले पूर्वाधार विकासलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए। मेयर रिसालले यो सडक आफ्नो चुनावी घोषणापत्रको बुँदा नम्बर एकमै समेटिएको मुख्य एजेन्डा रहेको स्मरण गराए।
"मेरो चुनावी घोषणापत्रमा पनि सुन्दरीजल, मूलखर्क, चिलाउने र ओखरेनी सडकलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गर्ने उल्लेख थियो," मेयर रिसालले भने, "अहिले पूर्वाधारको काम धेरै अगाडि बढिसकेको छ। चालु आर्थिक वर्षको बजेटसहितको व्यवस्थापनले यो सडक निर्माण कार्य पूर्ण रूपमा सम्पन्न हुनेछ।"
यो सडक खण्ड निर्माण भएसँगै दुर्गम मानिएका ती क्षेत्रका नागरिकहरूको आवतजावत सहज हुने र स्थानीय उत्पादनले उचित बजार पाउने अपेक्षा गरिएको छ।