
आफूहरुले सदनमा निरन्तर उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै विपक्षी सांसदहरुले आफुहरुले यसअघि उठाएका सीमा लगाएतका अन्य विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् । विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद खडक वहादुर वुढालाई बोल्न समय दिएका थिए ।
सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए । राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको भन्दै उहाले यसको निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे ।
उहाले पहिलेको सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा काम दिनका लागि चलखेल भइरहेको समेत आरोप लगाए । संविधानले अख्तियारलाई शक्तिशाली र स्वतन्त्र संवैधानिक निकायको रूपमा परिकल्पना गरेको भन्दै उहाले यसमाथि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भए निष्पक्ष छानबिन नहुने उल्लेख गरे ।त्यस्तै अन्य विपक्षी सांसदहरुले पनि आफूहरुले उठाएका विषयमा सरकार गम्भीर नभएको बताएका थिए ।