
पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै केही पेट्रोल पम्पहरूले बन्द गरेको जन गुनासो आएपछि गोकर्णेश्वर नगरपालिकाले आकस्मिक अनुगमन गरेको छ। बजारमा कृत्रिम अभाव सिर्जना भएको आशंकासहित गरिएको अनुगमनपछि नगरपालिकाले उपभोक्तालाई दु:ख नदिन व्यवसायीहरूलाई चेतावनी दिएको छ।
नगर प्रमुख दीपक रिसालले पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा पनि सेवा प्रवाह निरन्तर हुनुपर्नेमा जोड दिँदै मूल्य घटेपछि तेल लुकाउने वा विभिन्न बहानामा बिक्री रोक्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए।
उनका अनुसार हिजो पेट्रोल र डिजेलको मूल्य घटेपछि नगरका केही पम्पहरूले “तेल सकियो” वा “आएन” भन्दै करिब २ देखि ३ घण्टासम्म बिक्री रोकेको जनगुनासो आएको थियो। सोही गुनासोको आधारमा नगरभित्रका सातवटा पेट्रोल पम्पको स्थलगत अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा पाँचवटा पम्पमा इन्धन वितरण सामान्य रूपमा भइरहेको पाइएको नगर प्रमुख रिसालले जानकारी दिए। एक पम्पले पर्याप्त स्टक भए पनि अन्य क्षेत्रमा अभाव भए आफ्नो पम्पमा उपभोक्ता पठाउन आग्रह गरेको पनि उनले बताए।
मेयर रिसालले भने, “यदि कुनै पम्पले तेल भएर पनि मूल्य घटेकै कारण लुकाएको पाइएमा कडा कानुनी कारबाही हुनेछ। तर वास्तवमै आपूर्ति अभाव भएको अवस्थामा भने नेपाल आयल निगमसँग समन्वय गरी तत्काल आपूर्ति सहज बनाइनेछ।”
उनले मूल्य बढ्दा तुरुन्त समायोजन गर्ने तर घट्दा विभिन्न बहाना बनाउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै बजारमा पारदर्शी र उपभोक्तामैत्री सेवा आवश्यक रहेको बताए।नगरपालिकाले उपभोक्तालाई सहज सेवा सुनिश्चित गर्न बजारको नियमित र सूक्ष्म अनुगमन निरन्तर जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ।