काठमाडौं, असार २१ :

कागेश्वरी मनोहरा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई साइबर अपराध, लागूऔषध र कानुनी जिम्मेवारीबारे सचेत गराउँदै डिजिटल प्रविधिको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको कानुनी प्रशिक्षण कार्यक्रमको समापनका क्रममा नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी संयोजक शान्ता थापाले विद्यार्थीहरूलाई सही सङ्गत रोज्न र कुनै पनि निर्णय गर्नुअघि राम्रोसँग सोच्न आग्रह गरिन्।

"झिँगाको सङ्गतले नालीतिर लैजान्छ भने माहुरीको सङ्गतले फूलको रस पाइने स्थानतर्फ डोर्‍याउँछ," उनले भनिन्, "त्यसैले साथी छनोटदेखि हरेक निर्णयमा सचेत हुनुपर्छ।"

उनले घरमा गाली खाने डरले आफ्ना समस्या लुकाउँदा गलत बाटो रोज्ने सम्भावना बढ्ने भएकाले विद्यालयबाट फर्किएपछि अभिभावकसँग दैनिक केही समय खुलेर कुराकानी गर्न पनि विद्यार्थीहरूलाई सुझाव दिइन्।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले डिजिटल युगमा सामान्य लापरबाहीले पनि कानुनी समस्यामा पार्न सक्ने भन्दै विद्यार्थीहरूलाई जिम्मेवार भएर सामाजिक सञ्जाल र मोबाइल प्रयोग गर्न आग्रह गरे।

"रमाइलोका लागि गरिएको एउटा क्लिकले पनि जेल पुर्‍याउन सक्छ," उनले भने, "त्यसैले साइबर सुरक्षामा कुनै पनि प्रकारको लापरबाही गर्नु हुँदैन।"

उनले कानुनको अज्ञानता सजायबाट बच्ने आधार नहुने उल्लेख गर्दै बालबालिकादेखि वृद्धसम्म सबैले कानुनको आधारभूत ज्ञान राख्नुपर्ने बताए। संविधान देशको सर्वोच्च कानुन भएकाले स्थानीय तहका कानुन पनि संविधानअनुकूल हुनुपर्ने उनको भनाइ थियो।

प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक कार्कीले साइबर सुरक्षा र लागूऔषधविरुद्ध सचेतना प्रदान गर्दै साथीभाइको दबाबमा परेर गलत गतिविधिमा संलग्न नहुन आग्रह गरे। उनले लागूऔषधका विषयमा अनावश्यक जिज्ञासा नराख्न र गलत कुराप्रति स्पष्ट रूपमा 'होइन' भन्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

नगरपालिकाले विद्यालय तहका विद्यार्थीमा कानुनी साक्षरता अभिवृद्धि गर्दै विधिको शासन र सुशासनप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।