फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले विश्वकपको अन्तिम–१६ मा फ्रान्सले पाराग्वेलाई १–० ले हराएपछि सामाजिक सञ्जालमा आफूविरुद्ध जातीय टिप्पणी गरेकी पाराग्वेकी सिनेटर सेलेस्टे अमारिल्लाको कडा आलोचना गरेका छन्।
जुलाई ४ मा भएको खेलमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका एम्बाप्पेले अमारिल्लाको टिप्पणीको जवाफ दिँदै उनलाई “घृणित महिला” भनेका छन् र उनी सार्वजनिक पदमा बस्न योग्य नभएको बताएका छन्।
एम्बाप्पेले भने “म्याडम सेलेस्टे अमारिल्ला, तपाईं घृणित महिला हुनुहुन्छ र आफ्नो पदका लागि योग्य हुनुहुन्न।”
उनले थपे “तपाईंले पाराग्वेको प्रतिनिधित्व गर्नुहुन्न। त्यो देशले यस प्रतियोगितामा जुन जोश, मेहनत र सम्मान देखाएको छ, त्यसको तपाईं प्रतिनिधि होइन।”
एम्बाप्पेले अमारिल्लाको टिप्पणीले पाराग्वे टोलीले विश्वकपमा गरेको ऐतिहासिक प्रयासलाई ओझेलमा पारेको भन्दै आलोचना गरे। उनले भने “तपाईंको लापरवाही र खुलेआम जातीय घृणाका कारण विश्वले पाराग्वेका खेलाडीहरूले यस विश्वकपमा गरेको यात्रा र ऐतिहासिक प्रयासलाई बिर्सन थालेको छ। एउटा अयोग्य व्यक्तिको भनाइले तपाईंको देशको खराब छवि प्रस्तुत गरिरहेको छ।”
एम्बाप्पेले अन्त्यमा भने “म यस्ता मानिसहरूलाई संसारभर घृणा र जातीय विभेद फैलाउने स्वतन्त्रता कहिल्यै दिने छैन।”
सेलेस्टे अमारिल्ला को हुन्?
सेलेस्टे अमारिल्ला पाराग्वेकी सिनेटर हुन्। उनी लिबरल रेडिकल पार्टीकी राजनीतिज्ञ हुन्। विश्वकपबाट पाराग्वे बाहिरिएपछि फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेबारे सामाजिक सञ्जालमा गरेको जातीय टिप्पणीका कारण उनी व्यापक आलोचनामा परेकी हुन्।
एम्बाप्पेलाई लक्षित गर्दै अमारिल्लाले सामाजिक सञ्जाल एक्स (X) मा आपत्तिजनक टिप्पणी गरेकी थिइन्। उनले एम्बाप्पेबारे अपमानजनक शब्द प्रयोग गर्दै उनको तुलना बाँदरसँग गरेकी थिइन्।
उनले पाराग्वेका गोलरक्षक ओर्लान्डो गिललाई पनि सम्बोधन गर्दै लेखेकी थिइन्, “तिमीले उसलाई औंला देखाउनुपर्थ्यो, ओर्लान्डो गिल, म त संसदमा त्यसो गर्छु र केही हुँदैन।”
अर्को पोस्टमा अमारिल्लाले एम्बाप्पेको पारिवारिक पृष्ठभूमिलाई लक्षित गर्दै आपत्तिजनक र जातीय विभेदपूर्ण टिप्पणी गरेकी थिइन्। उनले एम्बाप्पेको पहिचान र फ्रान्सका लागि खेल्ने विषयलाई लिएर आलोचना गरेकी थिइन्।
यी टिप्पणीपछि एम्बाप्पेले अमारिल्लाको कडा आलोचना गर्दै उनलाई “घृणित महिला” भनेका थिए र यस्ता जातीय घृणा फैलाउने अभिव्यक्तिको विरोध गरेका थिए। उनको प्रतिक्रियापछि यो विषय अन्तर्राष्ट्रिय फुटबल जगतमा ठूलो विवादको विषय बनेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?