काठमाडौं, असार २४ :

अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप– ‘हामीमाथि अन्याय भयो’

काठमाडौँ । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले अर्जेन्टिनाविरुद्धको विश्वकप अन्तिम–१६ को खेलमा आफ्नो टोलीमाथि अन्याय भएको आरोप लगाएका छन्। २–० को अग्रता जोगाउन नसक्दा इजिप्ट ३–२ ले पराजित भएपछि उनले रेफ्री र भिडियो सहायक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।

अमेरिकाको एटलान्टामा मंगलबार भएको खेलमा इजिप्टले पहिलो १५ मिनेटमै अग्रता लिएको थियो। दोस्रो हाफमा मोस्ताफा जिकोले अर्को गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याए। यसअघि जिकोकै अर्को गोल भने भिडियो सहायक रेफ्रीले गोल बन्नुअघि लिसान्ड्रो मार्टिनेज माथि फाउल भएको ठहर गर्दै रद्द गरेको थियो।

दुई गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो।  क्रिष्टियन रोमेरोले पहिलो गोल गर्दै अन्तर घटाए भने, पहिलो हाफमा पेनाल्टी गुमाएका लियोनेल मेस्सीले बराबरी गोल गरे। त्यसपछि एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पुर्‍याए।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा हसनले इजिप्टलाई निष्पक्ष व्यवहार नगरिएको दाबी गरे। उनका अनुसार अर्जेन्टिनाको विजयी गोल हुनुअघि इजिप्टका ह्याम्डी फयाथी माथि एल्क्सीस म्याक एलिस्टरले फाउल गरे पनि भिडियो सहायक रेफ्रीले त्यसको समीक्षा गरेन।

‘यसलाई दुर्भाग्य मात्र भन्न सकिँदैन। आज हामीमाथि अन्याय भयो। हामीले सम्मान र निष्पक्ष व्यवहार पाएनौँ,’ हसनले भने, ‘स्पष्ट पेनाल्टीको सम्भावना हुँदा पनि  जाँच गरेन। हाम्रो दोस्रो गोल पनि आश्चर्यजनक रूपमा रद्द गरियो।’

इजिप्टले विवादास्पद निर्णयका कारण पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने अवसर गुमाएको दाबी गरेको छ।

खेलपछि निकै निराश देखिएका हसनले अब विश्वकपका बाँकी खेलहरू पनि नहेर्ने घोषणा गरे।

‘अब म यस विश्वकपका बाँकी खेलहरू पछ्याउने छैन,’ उनले भने, ‘यो अन्यायविरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गर्ने मेरो आफ्नै तरिका हो।’

"उनीहरू मेस्सीलाई प्रतियोगितामा राख्न चाहन्थे"

इजिप्टका यासेर इब्राहिमले हेडमार्फत टोलीलाई अग्रता दिलाएपछि अर्जेन्टिनाले निकोलस टाग्लियाफिकोमाथि भएको फाउलका आधारमा पेनाल्टी पाएको थियो।

तर, मेस्सीको प्रहार इजिप्टका गोलकिपर मोस्ताफा शोबियरले उत्कृष्ट बचाउ गरे। विश्वकपमा पेनाल्टीमा मेस्सीको संघर्ष यस खेलमा पनि जारी रह्यो। विश्वकपमा उनले टाइब्रेकरबाहेक प्रहार गरेका आठ पेनाल्टीमध्ये चारमा गोल गर्न सकेका छैनन्। यस संस्करणमा मात्रै उनले दुई पेनाल्टी गुमाइसकेका छन्।

खेलपछि प्रशिक्षक होसाम हसनले प्रतियोगिताका सबैभन्दा चर्चित खेलाडीमध्ये एक मेस्सीलाई प्रतियोगितामा कायम राख्न दबाब परेको हुन सक्ने आरोप लगाए।

‘सायद उनीहरू साविक विजेता टोलीलाई प्रतियोगितामा राख्न चाहन्थे। सायद उनीहरू मेस्सीलाई पनि विश्वकपको दौडमा कायम राख्न चाहन्थे,’ उनले  भने।

उनले थपे, ‘फुटबलमा कहिलेकाहीँ प्राविधिक पक्षभन्दा बाहिरका तत्वहरूले पनि प्रभाव पार्छन्। साविक विश्वविजेता टोलीले हरेक तहबाट साथ पाएको देखियो।’

यस खेलमा इजिप्टले सुरुआतदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो, जुन हसनको सामान्य रणनीतिभन्दा फरक थियो। प्रायः बलियो रक्षापङ्क्तिमा आधारित रहेर प्रत्याक्रमणमा खेल्ने इजिप्टले यसपटक आक्रमणलाई प्राथमिकता दिएको थियो।

यद्यपि पहिलो हाफसम्म अग्रता जोगाउन गोलकिपर मोस्तफा शोबेरको उत्कृष्ट प्रदर्शन निर्णायक बन्यो।

‘खेलाडीहरूले गरेको मेहनतबाट म निकै सन्तुष्ट छु। हाम्रो टोलीका अधिकांश खेलाडी इजिप्टको घरेलु लिगमा खेल्छन्, जबकि अन्य धेरै राष्ट्रिय टोलीका खेलाडी युरोपका व्यावसायिक लिगमा आबद्ध छन्,’ हसनले भने।

‘तर मोहम्मद सलाह र ओमर मार्मुशबाहेक अधिकांश स्थानीय खेलाडी भएको हाम्रो टोलीले पनि जुनसुकै टोलीसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गरेको छ।’

हसनले खेल तालिकाप्रति पनि असन्तुष्टि जनाए। अन्तिम–३२ का खेल जितेको चार दिनमै दिउँसो १२ बजे खेल राखिएको भन्दै उनले आयोजकको आलोचना गरे।

‘यस्तो तालिका बनाउने व्यक्तिले सायद कहिल्यै फुटबल खेलेकै छैन। दिउँसो १२ बजे फुटबल खेलाइँदैन। त्यो समय त हिँडडुल गर्ने वा ब्रन्च खाने बेला हो,’ उनले भने।

‘खेलाडीहरूले बिहान ७:३० बजे खाना खाने हो त? मैदानभित्र र बाहिर दुवै पक्षमा धेरै प्रश्न उठ्ने अवस्था देखियो।’