काठमाडौं, असार २४ :

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखको कार्यशैलिमाथि प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक केहीबेर स्थगित नै गर्नुपर्‍यो ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु भएपछि सभामुख डोलप्रसाद अर्यालले एमाले सांसद राईलाई बोल्न समय दिएका थिए । सांसद राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन ?’ भनेर प्रश्न सोधेपछि सभामुखले माइक काटेर आपत्ति जनाए ।

सभामुख अर्यालले मर्यादामा रहेर अभिव्यक्ति दिन चेतावनी दिदै बोल्न समय दिन नसक्ने बताएका थिए । सभामुखले राईलाई बोल्न रोक्दै अर्का सांसदलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सो क्रममा रास्वपा सांसद ज्वाला संग्रौलाले नियमापत्ति गर्दै सभामुखविरुद्धको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्। त्यसपछि सभामुख अर्यालले बोल्नका लागि पुनः समय दिँदा एमाले सांसद राईले सभामुखले ५ वर्ष सदन चलाउन नसक्ने अभिव्यक्ति दिए । त्यसलगतै सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरे।