
कागेश्वरी मनोहरा नगरपालिकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, सशक्तिकरण र जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ।
नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले महिला सशक्तिकरण, बाल संरक्षण, अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना, ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनयापन तथा सडक मानव व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको शाखा प्रमुख एवं बाल कल्याण अधिकारी सविना कुमारी श्रेष्ठले जानकारी दिइन्।
श्रेष्ठका अनुसार महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि नगरभित्र रहेका ४२ वटा महिला समूहलाई संगठित गरी सीपमूलक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेका छन्। ती कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
बालबालिकाको संरक्षण र सहभागिता सुनिश्चित गर्न नगरपालिकाले बाल क्लब तथा बाल सञ्जाल गठन गरी विभिन्न सचेतनामूलक र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ। सडक बालबालिका, बाल श्रमिक, हिंसापीडित तथा अभिभावकविहीन बालबालिकाको उद्धार, संरक्षण र शिक्षाको सुनिश्चितताका लागि पनि शाखाले सम्बन्धित निकायसँग समन्वय गर्दै काम गरिरहेको श्रेष्ठले बताइन्।
अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न नगरपालिकाले अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा परिचयपत्र वितरण गरिरहेको छ। साथै सीप विकास, आयआर्जनका कार्यक्रम तथा आवश्यक सहायक सामग्री वितरणलाई निरन्तरता दिइएको छ।
विशेष गरी अपाङ्गता भएका बालबालिकाको हेरचाह, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले नगरपालिकाले छिट्टै ‘दिवा सेवा केन्द्र’ सञ्चालनमा ल्याउने तयारी गरेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार केन्द्र सञ्चालनमा आएपछि अपाङ्गता भएका बालबालिकाले आवश्यक सेवा व्यवस्थित रूपमा प्राप्त गर्नेछन्।
ज्येष्ठ नागरिकका लागि वडा तहबाटै परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ। साथै ज्येष्ठ नागरिक सञ्जालमार्फत अधिकारसम्बन्धी अन्तरक्रिया, धार्मिक भ्रमण, नियमित स्वास्थ्य परीक्षण तथा ‘सीप हस्तान्तरण कार्यक्रम’ सञ्चालन गरी उनीहरूको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास भइरहेको छ।
नगरपालिकाले सडक मानवमुक्त नगर बनाउने अभियानलाई पनि निरन्तरता दिएको छ। अभियानअन्तर्गत सडकमा आश्रित असहाय व्यक्तिहरूको उद्धार गरी मानव सेवा आश्रमसँगको समन्वयमा पुनःस्थापना गर्ने कार्य भइरहेको छ।
यसका साथै आदिवासी जनजाति तथा दलित समुदायको क्षमता विकास र सशक्तिकरणका लागि पनि विशेष लक्षित कार्यक्रम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार सामाजिक न्याय, समावेशी विकास र लक्षित वर्गको जीवनस्तर उकास्ने उद्देश्यले सञ्चालन गरिएका यी कार्यक्रम आगामी दिनमा थप प्रभावकारी बनाइनेछ।