काठमाडौं, असार २५ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग जोडिएको विश्वकप विवादको चर्चा सेलाउन नपाउँदै अर्जेन्टिना र इजिप्टबीचको अन्तिम–१६ को खेलपछि अर्को विवाद चर्किएको छ।

एटलान्टामा  भएको खेलमा साविक विजेता अर्जेन्टिनाले २–० ले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको थियो। तर खेलपछि भिडियो सहायक रेफ्रीको निर्णयलाई लिएर व्यापक प्रश्न उठेका छन्।

इजिप्टले दोस्रो गोल गरेपछि निकै ढिलो भिडियो सहायक रेफ्री समीक्षा गरिएको र त्यसपछि उक्त गोल रद्द गरिएको थियो। त्यसपछिका घटनाक्रमले अर्जेन्टिनाको पुनरागमन र अन्ततः जित सुनिश्चित गरेको भन्दै निर्णयको निष्पक्षतामाथि प्रश्न उठाइएको छ।

यसअघि एक दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका फरवार्ड फ्लोरियन बालोगुन माथि लागेको एक खेलको निलम्बन पुनरावलोकन गरी हटाउन फिफासँग आग्रह गरेको खुलासा गरेका थिए। रातो कार्डका कारण लागेको प्रतिबन्ध फिफाले हटाइदिएको निर्णय पनि विवादमा परेको थियो।

प्रतिबन्ध हटेपछि बालोगुनका लागि  बेल्जियम विरुद्धको खेलमा मैदान उत्रिएका थिए। तर उनको उपस्थितिले पनि अमेरिकालाई जोगाउन सकेन र आयोजक राष्ट्र बेल्जियमसँग ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।